राष्ट्रिय अनुसन्धानका कर्मचारी परे अख्तियारकाे फन्दामा
राजविराजमा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी दुरुपयोग अनुसन्धान आयोगलेकाे फन्दामा परेका छन्। भारतीय नाकाबाट सामान ओसार–पसारमा सहयोग गर्ने लोभ देखाएर सेवाग्राहीसँग ५ हजार ५ हजार घुस लिएको आरोपमा कर्मचारी (सूचक) धर्मेन्द्रकुमार झा अख्तियारकाे फन्दामा परेका हुन्।
जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रहेका झा हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमानाका हेर्ने गरी खटिएका थिए। भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट घुस माग गरेको उजुरीपछि उनीमाथि निगरानी बढाइएको थियो।
बुधबार रकम लिइसकेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ स्थित, मल्हनियाँबाट आयोगको इटहरीस्थित कार्यालयको टोलीले झालाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।