News

२८ दिनपछि ओली र नेपाल भेटवार्ता, ४ घन्टा छलफल

२८ दिनपछि ओली र नेपाल भेटवार्ता, ४ घन्टा छलफल

काठमाडौंः तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घन्टा लामो एक्लाएक्लै छलफल भएको छ । ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सञ्चालनसहित समसामयिक राजनीतिक परिस्थिति र भारतसँगको सीमाविवादमा केन्द्रित रहेर चार घन्टा लामो छलफल भएको हो । भेटवार्तामा उनीहरूले तिक्त सम्बन्धको समीक्षा गर्दै कमीकमजोरी दोहोरिन नदिने र संवाद बाक्लो बनाउने सहमतिसमेत गरेका छन् । 

५ भदौमा बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली–नेपालबीच चर्काचर्की परेको थियो । सिंगापुरमा उपचारका लागि जानुअघि डाकिएको बैठकमा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना ओलीले अस्वीकार गरेपछि भनाभन भएको थियो । ओलीले आफ्नो स्वास्थ्यविरुद्ध अफवाह फैलाएको आरोप नेपालमाथि लगाएका थिए । अर्का अध्यक्ष प्रचण्ड, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले हस्तक्षेप गरेर दुई नेतालाई थमथमाएका थिए । त्यसयता ओली–नेपाल सचिवालय र सर्वदलीय बैठकहरूमा आमने–सामने भए पनि सामान्य बोलचालसम्म थिएन । ओली र प्रचण्डले नेपाललाई समेत छलफलमा राख्दै आएकोमा पछिल्लोपटक सचिवालय बैठकमा उनको असहमतिका बाबजुद प्रदेश प्रमुखहरूको निर्णय भएको थियो । प्रदेश प्रमुखको निर्णयमा नेपालले असहमति जनाएका थिए ।

ओली–नेपाल सम्बन्ध चिसिएपछि दुवै समूहका कतिपय नेताहरू चिन्तित थिए । प्रधानमन्त्री ओलीनिकट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुवै नेताले संवादमार्फत विश्वासिलो वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै आएका थिए । दसैँअघि नै प्रधानमन्त्री ओली संवादमार्फत सम्बन्ध सुधारमा तयार रहेको भन्दै जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले नेपालसँग सम्पर्क गरेका थिए । पछिल्लोपटक प्रधानमन्त्री ओलीको आग्रहमा समीक्षात्मक संवादपछि सम्बन्ध सुधार भएको निकट नेताहरूको दाबी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केपी ओली माधवकुमार नेपाल

विशेष