५१ करोड लगानीमा दक्षिणकालीमा ‘दक्षिणकाली फुटवेयर जोन’ स्थापना हुने
काठमाडौँ। ५१ करोड लगानीमा दक्षिणकालीमा ‘दक्षिणकाली फुटवेयर जोन’ स्थापना हुने भएको छ। नेपाली जुत्तामा आत्मनिर्भर हुने उद्देश्यले फुटवेयर जोन स्थापना गर्न लागिएको हो। उक्त जोनमा एक सय ७० वटा उद्योग स्थापना हुनेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनको सहकार्यमा दक्षिणकाली क्षेत्रमा ६ सय रोपनीभन्दा बढी जग्गामा फुटवेयर जोन बन्न लागेको हो। दक्षिणकाली फुटवेयर जोनमा पूर्वाधार निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएको छ।
बोर्ड बैठक बसेर केही दिनभित्र टेन्डर गर्ने तयारी छ। फुटवेयर जोनका लागि सरकारले पाँच करोड बजेट विनियोजन गरेको थियो। उक्त रकम खर्च गर्न केही दिनभित्र टेन्डर आह्वान गरेर पूर्वाधार निर्माण सुरु हुनेछ।स्रोतका अनुसार हालसम्म दुई रोपनी जग्गा उद्योगीको नाममा आइसकेको छ। थप एक सय रोपनी जग्गाको स्वामित्व लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
सबै जग्गा लिइसकेपछि पूर्वाधार बनाउन सुरु गर्दा समय लाग्ने भएकाले स्वामित्वमा आइसकेको जग्गामा पूर्वाधारको काम सुरु गर्ने र अरु जग्गा खोज्ने सहमति भएको छ। ३ वर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा रहनेछन्। जोनमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने योजना छ।
लामो समयदेखि फुटवेयर जोनको अवधारणा ल्याए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन। पछिल्लो समय जुत्ताचप्पलमा नेपाल आत्मनिर्भरउन्मुख छ। स्वदेशी उत्पादनले बजारको ६५ प्रतिशत माग धानेको छ। . नेपालमा करिब १५ सय जुत्ता उद्योग सञ्चालनमा रहेको छ। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अनुसार जुत्तामा करिब ३० अर्ब लगानी छ।
दक्षिणकाली फुटवेयर जोन