स्थानीय तहका ४८ सिटका लागि २ सय ८१ उम्मेदवार
काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा हुने उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबारका लागि स्थानीय तहतर्फ उम्मेदवार मनोनयन दर्ता तोकेको थियो ।
आयोगले प्रतिनिधि तथा प्रदेशसभा उपनिर्वाचनका लागि गत २१ गते नै उम्मेदवारी दर्ता गराइसकेको छ । स्थानीय तहतर्फ नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ४८ पद रिक्त रहेको आयोगले जनाएको छ ।
स्थानीय तहअन्तर्गत उपनिर्वाचन हुने धरान उपमहानगरपालिकासहित पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरी पपरा गाउँपालिकाको रिक्त अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, विभिन्न गाउँपालिका र नगरपालिकाका रिक्त ४३ वडाअध्यक्षका लागिसमेत बुधबार नै उम्मेदवारले मनोनय दर्ता गराएका छन् । त्यस्तै, प्रदेश १ मा पाँचथर फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरी धरान उपमहानगरपालिका ७, संखुवासभा खाँदबारी नगरपारिका–३, खोटाङको साकेला गाउँपालिका–३ मा वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी, प्रदेश २ अन्तर्गत सप्तरी छिन्नमस्ता गाउँपालिका–७, सिराहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपाकिलका–८ र २ तथा मटिहानी नगरपालिका–६, सर्लाही हरिपुर्वा नगरपालिका–१, रौतहट गढीमाई नगरपालिका–२, बारा बारागढी गाउँपालिका–१ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएका छन् ।
प्रदेश– ३ अन्तर्गत रिक्त रामेछाप उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८, काभ्रे धुलिखेल नगरपालिका–२, काठमाडौं दक्षिणकाली नगरपालिका–३, चितवन खैरहनी नगरपालिका–४ र ५ मा समेत बुधबार नै वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिका–२, बाग्लुङ बडिगाड गाउँपालिका–२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी, प्रदेश–५ अन्तर्गत गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–६, अर्घाखाँची मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, ऐरावती गाउँपालिका– १ र २, रोल्पा थावाङ गाउँपालिका–१, कपिलवस्तु शिवराज नगरपालिका–१०, दाङ घोराही उपमहानगर–१६, बाँके कोहलपुर नगरपालिका–६ मा वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका–५ को रिक्त वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ भने सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा त्रिवेणी नगरपालिका–१, अछाम मल्लेख गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२, कञ्चनपुरको पुर्नवास नगरपालिका–३, बैतडीको पुचौंडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ मा रिक्त वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको आयोगले जनाएको हो ।
मनोनयन दर्तालगत्तै आयोगले बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गरिसकेको छ । शुक्रबार स्थानीय तहतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।