४ करोड रुपैयाँमा मिल्यो डा. ज्योति र मल्लबीचको विवाद
काठडाैँ । व्यवसायी डा. रूप ज्योति हिरासतमुक्त हुने भएका छन् । ठगी गरेकाे अभियोगमा प्रहरी हिरासतमा डा. ज्योतिविरुद्ध ठगी अभियोगमा प्रहरीमा जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि विवाद सकिएको हो ।
उनीहरूबीचको लेनदेनको विवाद डा. ज्योतिले मल्ललाई ४ करोड रुपैयाँ दिने शर्तमा मिलेको हो । डा. ज्योतिलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतबाट सरकारी वकिलको कार्यालयमा लगिएको छ । कार्यालयले डा. ज्योतिसम्बन्धी सम्पूर्ण फाइल प्रहरीलाई फिर्ता गरिसकेको छ ।
डा. ज्योतिसमेत सेयरधनी रहेको ल्याण्डमार्क डेभलपर्सले बनाउन लागेको बाँसबारीको घर किन्न भन्दै मल्लले २०७१ सालमा रकम बुझाएका थिए । तर, ल्याण्डमार्कले घर बनाएर नदिएको र उल्टै सो जग्गा पनि अर्कैलाई विक्री गरेको भन्दै मल्लले प्रहरीमा जाहेरी दिएका थिए । मल्लको यस्तो जाहेरीले डा. ज्योतिलाई २१ कात्तिकमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । डा. ज्योतिसँगै उनकी छोरी पनि पक्राउ परेकी थिइन् ।
डा. ज्योतिले मल्ललाई ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरिसकेका मल्लले जानकारी दिए । डा. ज्योतिलाई अब दरबारमार्ग प्रहरी वृत्त लगिनेछ भने त्यहाँ उनको परिवारका सदस्यलाई जिम्मा लगाएर छोडिने प्रहरी स्रोतले जनायो ।