News

निजामती कर्मचारीको अवकाशको उमेरहद अब ६० वर्ष

निजामती कर्मचारीको अवकाशको उमेरहद अब ६० वर्ष

काठमाडौँ।  सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ ।

हाल बहाल रहेका कर्मचारीको हकमा भने जन्ममितिका आधारमा क्रमशः अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरणलगायतका व्यवस्थामा समितिले बिहीबार सहमति गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदन नै सदनबाट पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा छ÷छ महिना कार्यकाल लम्बिने छ । 

सहमतिअनुसार २०१८ साल जन्ममिति भई सेवामा रहेका कर्मचारीको सेवा अवधि ५८ वर्ष ६ महिना हुनेछ । यस्तै २०१९ साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष कायम हुने छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

निजामती कर्मचारी

विशेष