News

आँगनमा जंगेपिलरः नेपालतर्फको जमिनमा भन्सारको चेकपोस्ट र गाईगोठ

आँगनमा जंगेपिलरः नेपालतर्फको जमिनमा भन्सारको चेकपोस्ट र गाईगोठ

सिराहाः सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोस्ट सञ्चालन गरिरहेको छ । ४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण लौकहाको एसबिआई बैंकनजिक रहेको भारतीय भन्सार चेकपोस्ट दसगजा क्षेत्रमा सञ्चालन भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय श्रीलाल पासवानका अनुसार नेपालपट्टि दसगजा क्षेत्रमा पाँच भारतीय नागरिकले मासु तथा साइकल मर्मत पसल सञ्चालन गरिरहेका छन् । 

भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार स्थानीयले रोके

भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दसगजामा भन्सार चेकपोस्ट र अर्धसैनिक बल एसएसबीको चेकपोस्ट सञ्चालन गर्दै आएको छ । नेपाल भारतको सीमाबिन्दुमा पर्ने जंगे खम्बादेखि १० गज उत्तर र १० गज दक्षिणतर्फको जमिन दसगजाको खाली रहनुपर्ने हो । तर, भारतीय पक्षले आफ्नोतर्फ सबै मिचेको छ भने नेपालतर्फको दसगजासमेत ओगटेको छ । 

‘भारतीय पक्षले खाली राख्नुपर्ने दसगजासमेत छोडेको छैन । ठाढीका स्थानीयले बनाएको कल्भर्टदेखि करिब ५० मिटर दक्षिणतर्फ भारतीय पक्षद्वारा निर्मित भारत नेपालमैत्री द्वारसम्म दसगजा क्षेत्र पर्छ,’ ठाढीका ६० वर्षीय रामआशीष पासवान भन्छन्, ‘करिब चार दशकअघिसम्म खाली रहेको दसगजा भारतीय पक्षले मिच्दै मिच्दै नेपालको बिन्दुसम्म आइपुगेको छ ।’

नेपालतर्फ दसागजा क्षेत्रमै गत फागुनको पहिलो साता भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाडीका बासिन्दाले रोकेका थिए । एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीय बासिन्दालाई भेला गराई दबाब दिएपछि निर्माण रोकिएको स्थानीय ५५ वर्षीय रामचन्द्र साहले बताए । 

सर्वेक्षण टोलीद्वारा अनुगमन

भारतीय पक्षको जबर्जस्ती रोक्न स्थानीय बासिन्दाले तत्काल जिल्ला र केन्द्रलाई गुहारेपछि ठाडीमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नं। २ धनुषा, जनकपुरबाट आएको टोलीले स्थलगत अनुगमन गरेको थियो । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले टोलीले ठाडीको विवादित सीमा क्षेत्रको वस्तुगत अवस्था अनुगमनपछि १० फागुन ०७५ मा लिखित प्रतिवेदन दिएको बताए ।  

सिराहा प्रशासनको तथ्यांकअनुसार सिराहामा मुख्य २७, सहायक १९ र सानो तीन सय ४२ गरी तीन सय ८८ वटा सीमा स्तम्भ छन्, जसमा मुख्य सात, सहायक दुई र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रजिअ अधिकारीले भारतसँगको सीमाक्षेत्रमा गाडिएका सीमा स्तम्भमध्ये दुईवटा पछिल्लो वर्षामा ढलेकोबाहेक अन्य पूर्ववत् अवस्थामा रहेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सिराहा जमिन  चेकपोस्ट गाईगोठ

विशेष