News

बालिकाको शरीरभर रौँ, आर्थिक अभावले उपचारमा समस्या

बालिकाको शरीरभर रौँ, आर्थिक अभावले उपचारमा समस्या

धादिङ । भनिन्छ, समस्या उडेर आउँछ तर पैदल फर्कन्छ । १३ वर्षीया करिना थापामगरको जीवनमा यही भनाइ लागू भएको छ ।

पाँच वर्षअघि रूखबाट लडेकी आमा सञ्चो नहुँदै बाबुले आत्महत्या गरेपछि साना भाइबहिनीको सहारा बनेकी नीलकण्ठ–१२, आँगेटारकी करिनालाई अर्को चिन्ताले पिरोलेको छ– बहिनी सोमकुमारीको अनौठो रोगको उपचार कसरी गर्ने? 

सात वर्षीया सोमकुमारीको शरीरभरि काला रौं उम्रिएका छन् । जन्मँदै काला रौं थिए । उमेर बढ्दै गएपछि रौं हराउँदै जाने विश्वासमा परिवारले उपचार गराएन । तर हराउनुको साटो झन् फैलिँदै गयो, सँगसँगै फोकाहरू देखिन थालेका छन् । 

अहिले कम्मरदेखि घाँटीसम्मको पूरै भाग रौंले ढाकिएको छ । हातखुट्टामा पनि ढिक्का–ढिक्का भएर उम्रिन थालेको छ । ‘रौंले ढाकिएपछि बाबु–आमाले उपचार गर्नेबारे सल्लाह गर्दै थिए,’ आफन्त चलकुमारी थापाले भनिन्, ‘त्यही बेला लक्ष्मी रूखबाट लडिन्, उनैको उपचारमा सबै सम्पत्ति सिद्धियो, सोमकुमारीको उपचार कसरी गर्नु?’

सोमकुमारीकी आमा ३३ वर्षीया लक्ष्मी चार वर्षदेखि एकैथलो भएकी छन् । दुई वर्षयता उनी बोल्नसमेत सक्दिनन् ।

उनको उपचारमा लाखौं रुपैयाँ सकिएपछि ‘डिप्रेसन’ मा परेका बाबु यमबहादुरले पनि गत कात्तिक २० गते आत्महत्या गरे । जेठी छोरी करिनाले अहिले आमा, ११ वर्षीय भाइ काजी र सोमकुमारीको स्याहारसुसार गरिरहेकी छन् ।

‘बहिनीलाई छरछिमेकका केटाकेटीले जिस्क्याउँछन्,’ करिनाले भनिन्, ‘विद्यालय जान थालेपछि भुत्ला हेर्ने भन्दै साथीहरूले तानेर तीन वर्षमा पाँच जोर कपडा च्यातिदिइसके ।’ पूरै शरीर ढाक्ने कपडा नभएकाले घर बस्दा रौंले ढाकिएको भाग देखाएरै हिँड्ने गरेको उनले बताइन्।

सोमकुमारी पाँचघरेस्थित साङकोष माविमा तीन कक्षामा पढ्छिन् । दाइ–दिदीलाई काममा सघाउँछिन्, सँगसँगै खाना खाएर विद्यालय जान्छिन् । जीउभरि रौं पलाए पनि उनमा अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको चलकुमारीले बताइन् ।

पढ्ने बेला कपडा च्यातिएपछि बेला–बेला सोमकुमारी रुँदै आउने गरेको साङकोष माविका शिक्षक रामप्रसाद लामिछाने बताउँछन् । ‘सबै कक्षामा हामीले यसो नगर्न भनेका छौं,’ उनले भने, ‘तैपनि केटाकेटीले जिस्क्याइहाल्छन्, शरीरका रौं हेर्ने भन्दै कपडा तानिदिन्छन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

आर्थिक अभाव बालिका

विशेष