महराको आज बयान
काठमाडौँ । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज हुँदैछ ।
गत असोज १२ गते पक्राउ परेका महराको विस्तृत अनुसन्धान पछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित बिहीबार मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि महराको आज बयान हुन लागेको हो। अदालतमा बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
त्यसपछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राखी मुद्दा अघि बढाउने, धरौटी वा सामान्य तारेखमा छाड्नेबारे आदेश दिनेछ । प्रहरी प्रतिवेदनमाथि अध्ययनपछि बलात्कार प्रयासको आरोपमा महरा विरुद्ध मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।