मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार, प्रहरीद्वारा २ जना पक्राउ
बैतडीः महिलालाई सामूहिक बलात्कारको आरोपमा बैतडीमा प्रहरीले २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार उनीहरुमाथि कात्तिक २६ मा साँझ मेलौली जात्रामा मानसिक सन्तुलन गुमाएकी ४५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कारको आरोप छ ।
पीडित पक्षको किटानी जाहेरीको आधारमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।