कामचोर ठेकेदारहरुका पोष्टर धमाधम भाइरल बनाउँदै जनता
काठमाडौँ । सडक निर्माणमा ठेकेदारले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति सर्वत्र छ । जिम्मेवारी लिएपनि पूरा नगरेपछि आजित जनताले काम नगर्ने ठेकेदारका पोष्टर जथाभावी टाँसेर विरोध गर्न थालेका छन् ।
केही दिनअघि ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोको पोस्टर बनाएको तस्बिर र समाचार भाइरल बनेपछि अन्यत्रका जनताले पनि यस्तै आन्दोलन थालेका हुन्। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडकखण्ड पनि निर्माण पूरा हुन नसकेसँगै जनताले सडक निर्माणको ठेक्का लिने ठेकेदारमाथि पोष्टर टाँसेर कारबाही थालेका हुन् ।
ठेकेदारले समयमा काम नगरेको भन्दै दोलखा जाने बसमा उनीहरुको फोटोको पोस्टर बनाएर टाँस्न थालेका हुन् । आयोजनाको ठेक्का पाएका कम्पनीहरुमध्ये शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटाको तस्वीर दोलखा चल्ने बसहरुमा टाँसिएको छ ।
खाडीचौरदेखि सिन्धुपाल्चोककै मुडे र मुडेदेखि चरिकोटसम्म गरेर दुई खण्डमा यसको ठेक्का लागेको छ। खाडीचौर–मुडे २५ किलोमिटर खण्डको संयुक्त रूपमा जिम्मा लिएका नेपाली कम्पनीहरू सुनौला खिम्ती र गौरीपार्वतीले बीचैमा काम छाडेका थिए । मुडेदेखि चरिकोटसम्मको दोस्रो खण्डमा भने काम झन् लथालिंग बनेको छ ।
यसको संयुक्त रूपमा ठेक्का लिएको ठेकेदार कम्पनी शंकर माली र सुनौला खिम्तीले पनि काम अलपत्र पारेका छन् । भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले चार वर्षअघि करिब १ अर्ब २० करोडको लागतमा विस्तार गर्न सुरु गरेको थियो ।