News

अन्तत: आलम जेलमा

अन्तत: आलम जेलमा

रौतहट।  निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाएको हो। उनलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए। मुद्दामा वादीका तर्फबाट १२ र प्रतिवादी आलमका तर्फबाट २८ कानुन व्यवसायीले बहस गरेका थिए। १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा उनलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ।

चुनावमा बुथकब्जा गर्न ल्याइएका बम विस्फोटमा केही मारिएका थिए भने केही घाइते भएका थिए। विस्फोटबाट क्षति पुगेको गोठ तत्कालै मर्मत गरिएको थियो भने घाइतेलाई पोलिएको भनिएको इँटाभट्टा केही वर्षपछि बन्द भएको थियो।

आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते जिल्ला अदालत गौरमा तीनवटा मुद्दा दर्ता भएको थियो।

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा फणि महतले लेखेका छन।  

मोहम्मद अफताव आलम

विशेष