युरोप अमेरिकामा लोकप्रिय बन्दै पर्वतमा उत्पादित मकैको सातु
पर्वत। पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराईसक्यो । विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप र अमेरिकामा लोकप्रिय बनेको छ । पर्वतको फलेवास नगरपालिकामा तयार गरिएको त्यही सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् ।
फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार पार्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरेका छन् । “गाउँघरमा सातु भनेर हेला गर्छन्”, उद्यमी भुसालले भन्नुभयो, “शहर बजार र विदेशमा सातुको माग धेरै आएको छ ।” भुसालले मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरेको छ । तयारी खाजाले स्वास्थ्यमा असर गर्ने भए पनि सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्यमी भुसाल बताउनुहुन्छ ।
लप्सी, अदुवा र सितलचिनी प्रशोधन गरेर बेच्दै आएको उद्योगले सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ । यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेन्टलले खरीद गर्छन् । कोसेलीका रुपमा काठमाडौँ, पोखरालगायत देशका विभिन्न स्थानमा समेत पुग्न थालेको छ । गाउँघरमा नै उत्पादित अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेको पाइएको छ ।
पछिल्लो समय सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाका लागि पनि लैजाने गरिएको छ । उद्यमी भुसालले यसअघि पर्वतको वनपाखामा पाइने लप्सी प्रशोधन गरेर अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा बिक्री गर्दै आउनुभएको थियो । लप्सीका परिकार मौषमी भएका कारण बाह्रै महिना उद्योग चलाउन सातु उत्पादन गर्न थालिएको छ ।
मकैको सातु विदेश निर्यात