अर्थमन्त्रीद्वारा विभिन्न क्षेत्रका १५ उद्योगी सम्मानित
काठमाडौं – गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरू सम्मानित भएका छन्। आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको बताइएको छ।
गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।
कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।
अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।