News

मृर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे प्रधानमन्त्री ओली

मृर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । 

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा।डा। प्रेमराज ज्ञवालीले बताएका छन् । शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ । 

पिसाब कम भएको सिकायत भएपछि १३ कात्तिकमा उनलाई अस्पताल लगिएको थियो । प्रत्यारोपण गरिएको मृर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो । मृर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे÷नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ । 

अस्पताल पुगेको वेला मृर्गौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकहरूले राखेका थिए । तर, प्रधानमन्त्रीले ‘म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नुपर्दैन’ भन्दै थप परीक्षणमा अनिच्छा देखाएका थिए । तर, चिकित्सकले उनलाई सम्झाए, ‘तपाईंको स्वास्थ्य प्रतिकूल छैन, अस्पताल आएको बेला रगत जाँची हेरौँ, हानि केही हुँदैन ।’

रगतको रिपोर्ट भने प्रधानमन्त्रीले अपेक्षा गरेजस्तो आएन । क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम प्रतिशत पुगेको अस्पताल स्रोतले जनाएको छ । क्रियाटिनिनको मात्रा उच्च देखिएपछि उपचारमा संलग्न चिकित्सकले तत्कालै प्रधानमन्त्रीको हेमोडायलाइसिस सुरु गरेका थिए । तीन घन्टा हेमोडायलाइसिस गरेर प्रधानमन्त्री शनिबार नै बालुवाटार फर्किए । 

प्रधानमन्त्रीको क्रियाटिनिन ६.३ पुगेको हो भने मृर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए  । ‘प्रधानमन्त्रीको उमेरअनुसार उहाँको मृर्गौलाले दश प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । ६.३ क्रियाटिनिन देखिएमा अब मृर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । बिरामीको भलाइका लागि नियमित डायलाइसिसमा बस्नुपर्छ अथवा प्रत्यारोपणमा गइहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा स्वास्थ्य राम्रो हुँदैन,’ डा. काफ्लेले भने ।
 

मृगौला कसले दिन सक्छन्? 

प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ । अंगदान गर्न सक्ने परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलो बुबा, ठूली आमा, काका, काकी, सानोबुबा, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान पनि अंगदान दिन सक्ने नजिकको नातेदारभित्र समेटिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली मृगौला प्रत्यारोपण

विशेष