रौतहट कारागारमै बस्न चाहन्थे आलम
काठमाडौँ– आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ ।आलम (झर्किंदै), म अन्त जान्नँ ।
प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ ।
आलमः कुन कारागार लाने कुरा छ? डिल्लीबजार कि अन्तै?
प्रहरीः डिल्लीबजार होइन, नख्खु ।
आलमः निकै टाढा छ कि क्या हो?
प्रहरीः छैन, नजिकै छ ।
जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो । त्यस क्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन् ।
काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो । टोली ७ घण्टापछि शनिबार बिहान ४ बजे ललितपुरस्थित नख्खु कारागार आइपुगेको थियो । प्रक्रिया पुर्याई आलमलाई कारागारको जिम्मा लगाएर प्रहरी टोली फिर्ता भइसकेको छ ।
रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार तत्काल प्राप्त प्रमाणका आधारमा आलमलाई कारागारमा राखेर पुर्पक्ष हुने आदेश सुनाएको थियो । अदालतले आलमलाई सुरक्षित कारागारमा राख्न र घटनाका साक्षी तथा पीडितको सुरक्षामा विशेष ध्यान दिन पनि आदेश दिएको थियो ।
स्रोतका अनुसार अदालतको आदेशपछि रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीसँग समन्वय गरेका थिए । प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई यसबारे जानकारी गरायो । लगत्तै गृहसचिव प्रेमकुमार राईले आलमलाई नख्खु कारागार ल्याउन निर्देशन दिए । त्यसअघि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ‘थ्रेट एनालाइसिस कमिटी’ ले आलमलाई राजधानीकै कारागार पठाउनुपर्ने निर्णय गरेको थियो । ‘रौतहट कारागारमै राख्दा समर्थन र विरोधका क्रममा उत्पन्न हुन सक्ने परिस्थिति आकलन र अदालतको आदेशअनुसार उनलाई नख्खु कारागार पठाइएको हो,’ एसपी खत्रीले भने, ‘पुर्पक्ष गरिएका आरोपितलाई सुरक्षित स्थानमा राख्नु र साक्षी तथा पीडितको सुरक्षा गर्नु हाम्रो दायित्व हो, त्यसैअनुसार निर्णय लिएका हौं ।’
आलमलाई पुर्पक्षका लागि थुनामा राखिएपछि उनका समर्थकबाट हुन सक्ने अप्रिय गतिविधिमा पनि विशेष निगरानी राखिएको प्रहरीले जानकारी दिएको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी कार्कीले पनि सबै परिस्थिति मूल्यांकन गरेर आलमलाई नख्खु कारागार पठाइएको बताए । ‘साक्षी–प्रमाण र पीडितलाई आलम पक्षबाट दबाब, धम्की र प्रलोभन आउन सक्छ, यसप्रति हामी चनाखो छौं,’ उनले भने, ‘अपराध मनोवृत्ति भएका मानिसले जहाँसुकै बसेर पनि अप्रिय घटना गराउन र प्रमाण नष्ट पार्न सक्ने जोखिम भएर आलमलाई राजधानीको कारागार पठाइएको हो ।’ आस्था र लोकप्रियताका कारण नभई धम्की र त्रासले आलमबारे स्थानीय बोल्न नसकेको डीआईजी कार्कीले बताए ।
२०६४ चैत २७ गते राति बम विस्फोटमा घाइते भएका मानिसलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आलमसहित १ दर्जनलाई प्रतिवादी बनाइएको छ । घाइतेलाई सामूहिक नरसंहार गरिएको भनिएको इँटाभट्टामा अहिले धान खेत छ । ‘घटनास्थल तथा राजपुरस्थित आलमको बस्तीमा उनको समर्थन नगर्नेले सहज पहुँच पनि पाउँदैनन्,’ एक स्थानीयले भने, ‘उनको विरोध गर्नेलाई सीमा पारिका मानिस झिकाएर ‘ठेगान लगाइदिने’ धम्की बारम्बार आउँछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
मोहम्मद आफताब आलम रौतहट कारागार