प्याज नखाने प्रधानमन्त्रीको घोषणा
काठमाडौं – प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेका हुन् ।
एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनतालाई पनि निरुत्साहित गर्ने उनको सोच छ । बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ ।
हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकासिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ । भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ ।