नेकपा नेता माधव नेपालले मन्त्रीहरुको खोले यस्तो पोल, के पर्लान अख्तियारको फन्दामा?
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरु घुस लिने कार्यमा संलग्न रहेको बताएका छन् । उनले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको बताए।
नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका बेला सो पार्टीका बरिष्ठ नेता नेपालले सो कुरा बताएपछि पार्टी भित्र र सरकारमा एक किसिमको तरंग नै पैदा भएको छ।
नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको दावी छ । ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’
वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।