कालापानी भारतकै हो, भारतकै रहन्छ : उत्तराखण्डका मुख्यमन्त्री
काठमाडौं । भारत उत्तराखण्डका मुख्यमन्त्रीले नेपाल भारतको सीमामा रहेको कालानपानी क्षेत्र भारतकै रहेको बताएका छन्। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतकै हो, भारतकै रहने बताए।
प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा चर्चा सुरु भएको छ।भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो ।
मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘जुन कुरा नेपालले भनेको छ, त्यो चिन्ताजनक छ । (कालापानी) भारतको हिस्सा हो र भारतकै रहन्छ ।’
यद्यपि उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले कुनै विवाद भए वार्ता र सम्वादमार्फत हल गर्न सकिने बताएका छन् ।प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर सोधिएको प्रश्नमा उनले ‘यस्तो किसिमले कुरा गर्ने नेपालको कार्य संस्कृति नभएको’ बताए ।
भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।