निगमको ट्याङ्कर गायब प्रकरण : सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन
काठमाडौं । नेपाल आयल निगमको २० हजार लिटर डिजेल लोड गरेका ट्याङकर अपहरणमा परेपछि छानबिन समिति गठन भएको छ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट आइतबार अपराह्न २ बजे डिजेल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङकर सोही दिन राति सिरहाबाट बेपत्ता भएपछि सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको हो
सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गमा छाडेका निगमले जनाएको छ ।
छानबिन समिति गठन हराएको ट्याङ्करबारे सत्यतथ्य पत्ता लगाउन निगमले छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ ।