विवाह गर्न सौराहा आउने थाले भारतीय नागरिक
चितवन । भारतबाट विवाहका लागि सौराहा आउने भारतीय नागरिक बढ्न थालेका छन। विवाहको सिजन भएकाले यो समयमा भारतबाट दुलाहा दुलही सहित विवाहका लागि आवश्यक सामान बोकेर भारतीयहरु बिवाहका लागि सौराहा आउने गरेका हुन्।
सौराहामा संचालित एक होटल भाडामा लिएर उनीहरु २ देखि ३ दिन लगाएर बिवाह गर्ने गर्छन । साथै उनीहरु ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।
नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई÷दुईवटा विवाहको ‘बुकिङ’ रहेको र सोमबार मात्र सेभेन स्टारमा भारतीय विवाह भएको होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीले बताए । एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको समेत उनको भनाइ छ ।
एउटा बिवाहमा लगभग ४ सय जन्ती आउने गरेका र होटलमा नअटाएकाहरु होटल बाहिरै बस्ने गरेको उनले बताए। होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गएको वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उहाँले जानकारी दिनुभयो ।
भारतबाट विवाह गर्न आउनेको संख्या गत बर्षको तुलनामा यस बर्ष बढेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन। गत बर्ष सात आठओटा विवाह भएको यस स्थानमा यस बर्ष भने त्यति विवाह भईसकेको छ।
भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरूका लागि पछिल्लो समय सौराहा उपयुक्त थलो बन्न थालेको छ।