News

चौँरीको निःशुल्क बीमा

चौँरीको निःशुल्क बीमा

मेलम्चीः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको ९ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा शेर्पाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताए । 

गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको निःशुल्क बीमा योजना अघि बढाइएको हो । सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमाङ्क गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ ।

७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम आधारित छ । तर, गाउँपालिकाले किसानलाई चौँरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौँरी बीमाको अवसर मिलेको हो । गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौँरीको निःशुल्क बीमा गरिएको छ । बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ ।

बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरेको लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बताउनुभयो । एक लाख बढी मूल्य पर्ने चौँरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ । ‘गोठ सार्दै जाँदा चौँरी बिरामी भएर मर्ने जोखिम हुन्छ, केही गरी मरिहालेमा अब भने बीमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो’ शेर्पाले भने ।

पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौँरीपालनतर्फ किसानको आकर्षण घट्दै गएको थियो । चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बीमा कार्यक्रम निःशुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । खर्कमै पुगेर गाउँपालिकाले चौँरीको बीमा गराएको छ । बीमासँगै गाउँपालिकाले चौँरीगोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गरेको छ ।

सिन्धुपाल्चोक चौँरी निःशुल्क बीमा

विशेष