News मनोरञ्जन

हातविनाका प्रख्यात संगीतकार

हातविनाका प्रख्यात संगीतकार

अष्ट्रेलियाका एक नवयुवकका दुवै हात थिएनन । तर उनले आफ्नो अठोट र साहसले हातको आवश्यकता खट्कन दिएनन् । ती युवकको नाम हो– कार्ल अन्थन । यिनको जन्म आजभन्दा १७० वर्षअघि भएको थियो । खुट्टाको सहायताले विश्वमा प्रसिद्धि पाएका हातको अभाव नगराउने श्रेय उनका पितालाई जान्छ । उनी चाहन्थे आफ्नो छोराले भैपरी आउने सबै काम हातको साटो खुट्टाले गरोस् । अन्थन ६ वर्षको हुँदा पिताले स्कुल भर्ना गरिदिए ।

विद्यालयमा उनी एउटा खुट्टाले स्लेट समात्ने अर्को खुट्टाले औंलाको बीचमा चक राखेर लेख्ने गर्थे । परिणामस्वरुप उनी लेखनकलामा पूर्ण रुपले निपूर्ण भए । अन्थनको यो लगन र परिश्रम देखेर विद्यालयमा सबै छक्क पर्थे । उनको घर नजिकै एक पोखरी पनि थियो, जहाँ बच्चाहरु गर्मीको समयमा पौडी खेल्थे ।

एकदिन साहसी अन्थनले पनि पौडी खेल्ने विचार गरी पोखरीमा हाम्फाले । उनका दुवै हात नभएकाले पौडिन नसकी कतिपल्ट उनी मृत्युको मुखमा पुगे । यति हुँदा पनि आफ्नो प्रयास र साहस जारी राखे । जतिसुकै पीडा खेप्दै भएपनि आस मारेनन् । परिणामस्वरुप उनी पौडीबाज भएर निस्किए । पछि पछि अन्थनले आफैं लुगा लगाउन पनि सिके ।

हातबाट बन्चित अन्थनका लागि संगीत सिक्नु फलामो च्यूरा चपाउनुजस्तै थियो । तर आत्मविश्वास र लगनशीलताका धनी अन्थनले १० वर्षको उमेरदेखिनै भायोलिन सिक्न थाले । १६ वर्षको उमेरमा त उनी संगीतका राम्रै ज्ञाता भइसकेका थिए । एकपटक उनलाई एकल कलाको मौका मिल्यो । कार्यक्रम अभूतपूर्व ढंगले सम्पन्न भयो । जो शो सकियो, दर्शकहरु हात मिलाउन आए । तर दुवै हात नभएको देखेर चकित भए ।

कार्यक्रम अवधिभर खुट्टाले यी सम्पूर्ण काम गरेको दर्शकले पत्तै पाएनन् । उनी विश्वकै पहिलो कलाकार हुन,जो खुट्टाको सहायताले सिद्धहस्त संगीतकार बन्न सफल भए । आफ्नो परिश्रम र लगनशीलताले संसारमा ख्याती पाएका अन्थनको बारेमा जर्मनीका प्रसिद्ध उपन्यासकार जेराट हाबर्टले एउटा उपन्यास लेखेका थिए । उनको जीवन प्रतिनिधित्व गर्ने खालको एउटा सिनेमा पनि बनाइएको थियो । आज  पनि उनी विश्वका करोडौं अपाङगहरुको प्रेरणा बनेका छन् ।  

हात कार्ल अन्थन

विशेष