News

उदयपुरमा प्रहरी र स्थानीयबासीबीच झडप

उदयपुरमा प्रहरी र स्थानीयबासीबीच झडप

उदयपुर । ढुंगा उत्खनन्को विवादलाई लिएर उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपपछि स्थानीयले चक्काजाम समेत गरेका छन्। चक्का जामका कारण एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्।

झडपमा प्रहरीले झण्डै आधादर्जन अश्रु ग्यास प्रहार गरेको छ। सिसुवा खोलाबाट नियमविपरीत ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए। प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काकाले नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।

स्थानीयका अनुसार सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल पछि सिसुवा खोला र गिदेरी खोलाबाट ढुंगा उत्खनन् स्थगन गर्ने सहमति भएको थियो। त्यसपछि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने र बिक्रीमा लैजाने विषयमा विवाद कायमै रहेको थियो।

प्रमुख जिल्ला अधिकारी खड्काले सात दिन भइसक्दा पनि टिपर रोकेर राखेकोपछि कानुनअनुरूप नै सोमबार राति टिपरलाई जिल्ला प्रहरी कार्यालय ल्याएको दावी गरे।

विशेष