नयाँ मन्त्रीहरुको सपथ भोलि हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा जुटेका छन्। तर अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो भने लागेको छैन । जसकाे लागि नयाँ मन्त्री बन्न इच्छा राख्ने सांसदहरुकाे लर्काे नै लागेकाे छ।
बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन।
यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । स्रोतकाअनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने पक्का भएको छ । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।
यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने नेकपा सचिवालयका एक सदस्यले बताए ।
नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘हट्ने र नयाँ बन्ने मन्त्रीहरु आजै टुंगो लाग्छ । तर मन्त्रीहरुको सपथ भने भोलि मात्र होला ।’