पार्टी आफूअनुकूल बनाउँदै देउवा, फेरि सभापति बनेर ८० वर्षसम्म सक्रिय बन्ने चाहना
काठमाडौंः ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । बीपी ०१५ सालमा प्रधानमन्त्री बन्दा ४६ वर्षका थिए ।
देउवा आफैं पनि कर्मभन्दा भाग्यमा विश्वास गर्छन् । ज्योतिषीले ६ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको उनी बेलाबखत पार्टी नेताहरूलाई सुनाउने गर्छन् । ७४ वर्षीय उनी अहिले पार्टी–सत्ता हाँकिरहेका छन् र दोस्रो कार्यकालका लागि नेतृत्व हात पार्ने ध्याउन्नमा छन् । नेतृत्वमा दोहोरिएर ८० वर्षसम्म पार्टीमा क्रियाशील रहने चाहना उनमा पछिल्लो पटक प्रकट हुँदै आएको छ । तर सजिलो भने छैन । उनको नेतृत्वमा पार्टी कमजोर बनेको र चर्चा गर्नयोग्य एउटै काम नभएको भन्दै दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विरोध गर्दै आएका छन् ।
हुन पनि महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग देउवाले अहिलेसम्म गठन गर्न सकेका छैनन् । भ्रातृ संस्थाहरूलाई नेतृत्वविहीन बनाएको, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति गठन तथा विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन गर्न नसकेको लगायत आरोप उनीमाथि छ । उनकै नेतृत्वमा तीन तहको चुनावमा होमिएको कांग्रेसले नराम्रोसँग पराजय भोगेकाले पनि परिस्थिति अनुकूल छैन ।
यतिबेला उनी पार्टीका निकायहरूलाई आफूअनुकूल क्रियाशील बनाउन जुटेका छन् । पार्टीका संरचनालाई पूर्णता दिएर मात्रै महाधिवेशन गर्ने उनको योजना छ । त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माण गर्न लागिपरेका छन् । यसो गर्दा आफ्नो गुटका नेता–कार्यकर्ताको व्यवस्थापन हुने बुझाइ उनमा छ । व्यवस्थापनकै लागि १७ वटा केन्द्रीय विभाग थप्ने प्रस्तावसमेत ल्याएका छन् । नेता–कार्यकर्ताको व्यवस्थापनपछि अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जानुपर्ने उनको रणनीति छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापनइतर खेमा भने देउवाका यिनै कमजोरीलाई महाधिवेशनको मुद्दा बनाउने योजनामा छन् । आफ्ना कमजोरीलाई मुद्दा बनाउन नदिने देउवाको तयारी र उनको कमजोरीलाई मुद्दा बनाएरै महाधिवेशनमा जाने संस्थापन इतरपक्षको रणनीति कांग्रेसभित्रको राजनीति बनेको छ ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा र श्याम घिमिरेका अनुसार आसन्न पार्टी महाधिवेशनमा देउवा सभापतिका उम्मेदवार हुन् । १३ औं महाधिवेशनबाट सभापति निर्वाचित उनको पहिलो कार्यकाल फागुनमा सकिँदै छ । नियमित महाधिवेशन आगामी फागुनमा हुनुपर्ने भए पनि विधानको सुविधा उपयोग गर्दै देउवाले ०७७ फागुनमा मात्रै महाधिवेशन गर्ने तयारी गरेका छन् । त्यतिबेला उनी उमेरले ७५ कटिसकेका हुनेछन्, कार्यकाल सकिने बेला ८० वर्ष पुग्नेछन् ।
इतर पक्षका नेताहरू उनलाई दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न दबाब दिइरहेका छन् । ‘चारपटक प्रधानमन्त्री र एकपटक सभापति भइसकेको मान्छे अब फेरि केका लागि चुनाव लड्ने ?’ केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा कांग्रेस नेता शेखर कोइरालाको सुझाव थियो, ‘देउवा र उनका समकक्षी रामचन्द्र पौडेलले अब उत्तराधिकारी खोज्नुपर्छ । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ, आफूले भोगेको इतिहासका बारेमा किताब लेखेर बस्नुपर्छ ।’ तर, देउवा पार्टी सभापति भएर अझै मुलुकको प्रधानमन्त्री बन्ने आसमा छन् ।
संस्थापनमा देउवाको उत्तराधिकारी बन्न उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार अग्रसर छन् तर दुवै जना देउवाले आफैं नछाडेसम्म चुनौती दिने पक्षमा छैनन् । संस्थापनइतर खेमामा देउवालाई चुनौती दिन उनकै समकक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रभागमा छन् । उनी देउवाभन्दा एक वर्ष जेठा अर्थात् हजुरबा पुस्ताकै नेता हुन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि देउवालाई चुनौती दिने लाइनमा छन् । तर आफ्नै समूहभित्र कसले जित्ने भन्ने प्रतिस्पर्धा छ । संस्थापन इतरपक्षमा सर्वसम्मत हुने वातावरण नबनेकाले देउवालाई थप उत्साहित बनाएको छ ।
देउवाको निकट रहेर काम गरेका नेता विश्वकर्माका अनुसार फेरि देउवा नै किन ? भन्ने प्रश्न संस्थापन पक्षभित्रै पनि उठ्ने गरेको छ । ‘भरपर्दो उत्तराधिकारी नपाएरै देउवाले आफैं उठ्न खोज्नुभएको हुन सक्छ,’ उनी भन्छन् । राजनीतिलाई व्यवसाय बनाइएकाले पनि हत्तपत्त नेतृत्वमा पुग्नेहरूले कुर्सी छाड्न नसक्ने ठम्याइ उनको छ । ‘पदमा पुग्नेले पूर्वाधार बनाएको हुन्छ, त्यसमा सबैको आस र त्रास जोडिन्छ । अमेरिका, भारत र बेलायतमै पनि राजनीतिबाट रिटायर्ड भएकाहरूले आरामको जीवन बिताएका छन्,’ उनी भन्छन्, ‘हाम्रोमा पूर्व भए पनि, हारे पनि र जिते पनि खचपच गर्ने प्रवृत्ति छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
शेरबहादुर देउवा सभापति