News

नेपालभित्रै सम्भव छ दोस्रो मृगौला प्रत्यारोपण

नेपालभित्रै सम्भव छ दोस्रो मृगौला प्रत्यारोपण

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका वरिष्ठ सहायक धर्मराज पौडेल हरेक दिन डेढदेखि दुई घण्टा सार्वजनिक बस चढेर कार्यालय आउजाउ गर्छन् ।

नौ वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ५६ वर्षीय पौडेल स्वस्थ छन् । उनले २०६२ भदौमा भारत, चन्डीगढको सिल्भर अप्स हस्पिटलमा पहिलोचोटि मिर्गौला प्रत्यारोपण गराएका थिए । चार वर्षमै समस्या आएपछि २०६७ साउन ३० गते वीर अस्पतालमा डा.पुकारचन्द्र श्रेष्ठले उनको दोस्रो मिर्गौला प्रत्यारोपण गरिदिएका हुन् ।

नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालका छोरा २७ वर्षीय दिवसले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको आठ महिना भएको छ । उनी पनि स्वस्थ र सक्रिय छन् ।

उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. श्रेष्ठले नै गरेका हुन् । दिवसको पहिलो मिर्गौला प्रत्यारोपण २०७१ सालमा भारत, अहमदाबादको इन्स्टिच्युट अफ किड्नी डिजिज एन्ड रिसर्च सेन्टरमा भएको थियो ।

पौडेल र दाहाल जस्तै स्वदेशमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर सहज जीवन बाँचिरहेकाहरू अरू पनि छन् । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६, वीर अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा करिब ८ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनीहरूमा खासै समस्या देखिएको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गैरीगाउँमा बस्दै आएका पौडेलको कार्यालय ९ किलोमिटर टाढा सिंहदरबारमा छ । ‘बसमा ओहोरदोहोर गर्छु ।

बिरामी भएर बिदा लिनुपरेको छैन । काम गर्दा अप्ठ्यारोसमेत अनुभव हुँदैन,’ उनले कान्तिपुरसित भने । एक साताअघि मात्र परीक्षण गराउँदा उनको मिर्गौलाको कार्यप्रणाली ‘एकदम ठीक’ देखिएको थियो ।

औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दाहालको बुझाइमा मिर्गौला प्रत्यारोपणमा नेपालको नतिजा अन्तर्राष्ट्रियस्तरकै राम्रो छ । ‘मैले छोराका लागि सिंगापुर, भारतलगायतका थुप्रै ठाउँबाट जानकारी लिएँ । तर यहाँकै भरपर्दो लागेर भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएँ ।’ पहिलो पटकको मिर्गौला प्रत्यारोपणसमेत मुलुकभित्रै गराउनुपर्नेमा उनले जोड दिए । ‘भारतको त्यस्तो राम्रो अस्पतालमा छोराको मिर्गौला प्रत्यारोपण गराउँदा त काम लागेन, अरू के भन्ने !’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन विदेश जान लागेको चर्चा चलिरहेको सन्दर्भमा पौडेलले भने, ‘पुन: प्रत्यारोपण गराउन प्रधानमन्त्रीले विदेश जानु आवश्यक छैन । उहाँले मुलुकमै प्रत्यारोपण गरेर हाम्रा विशेषज्ञ र हामी मिर्गौला रोगीलाई समेत हौसला दिनुपर्छ ।’ दाहालले पनि प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको पुन: प्रत्यारोपण गराउन उपयुक्त हुने बताए । ‘ठूलाबडा अझ देशकै अभिभावकले विदेशमा उपचार गराउँदा यहाँका डाक्टरहरूको मनोबल गिर्छ,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालमा एउटै व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको बारे यकिन तथ्यांक छैन । शिक्षण अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण शल्यक्रिया विभागका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार त्यहाँ करिब ८ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ‘एउटै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण मुलुकभित्रै सफल भइसकेको छ,’ शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा. पवनराज चालिसेले भने ।

‘पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा जुन जोखिम हुन्छ, दोस्रो पटक गर्दासमेत त्यही हो । धेरै फरक पर्दैन,’ उनले भने । मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण मुलुकमै हुन सक्ने बताए । ‘मुलुकभित्रै प्रत्यारोपण गर्दा बरु थप विश्वसनीयताका लागि विदेशी विशेषज्ञ उपस्थित गराउन सकिन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

मिर्गौला प्रत्यारोपण

विशेष