उपेन्द्र यादवको मन्त्रालय हट्यो, बाबुराम भट्टराई धर्नामा

उपेन्द्र यादवको मन्त्रालय हट्यो, बाबुराम भट्टराई धर्नामा

काठमाडौँ । सरकार परिवर्तनबाट सबैभन्दा असर परेको पार्टी हो समाजवादी पार्टी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुनर्गठन गर्दै सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय उनलाई नसोधी परिवर्तन गरिदिएका छन् ।

यादव भारत भ्रमणमा रहेका बेला उनको मन्त्रालय परिवर्तन भयो । उनको जिम्मेवारी हेरफेर गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा पठाइएको छ । कानुन मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रायलभन्दा कम आकर्षक मन्त्रालय मानिन्छ । यति मात्र होइन उपप्रधानमन्त्री समेत रहेका यादवको पार्टीबाट स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र यादवलाई त पदमुक्त नै गरिएको छ।

उपप्रधानमन्त्री यादवसँग छलफलसमेत नगरी उनलाई मन्त्रालय फेरबदल गर्ने र राज्यमन्त्रीलाई पदमुक्त गरिएको हो। यादवको पार्टीबाट सहरी विकास मन्त्री रहेका मोहम्मद इस्तियाक राईको मन्त्रालयमा नेकपाका सांसद रामबीर मानन्धरलाई राज्यमन्त्री बनाइएको छ ।

यस्तोमा पार्टीले नेताहरु छलफलमा जुटेपछि आवश्यक निर्णय लिने सपाका नेताले जानकारी दिए । तर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने धर्नामा बस्न पुगेका छन् । समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराई बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना बसेका हुन् ।

बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै भट्टराई अन्य नेतासहित धर्नामा बसेका हुन् ।

बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायतले जिल्ला प्रशासनमा धर्ना दिएका हुन् ।

भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । धर्ना बसेको फोटोसहित ट्वीट गरेका भट्टराईले भनेका छन्, ‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना । यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् ’ ।

उनीहरुले मंसिर १० गतेसम्म मुआब्जा निर्धारण गर्न अल्टिमेटम दिएका छन् । 

संम्बधित खबर

विशेष