जनता आन्दोलित हुनुपर्ने बेला आयो : महर
भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पुर्व अध्यक्ष नैनसिंह महरले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत थुप्रै स्थानमा दुवै छिमेकी राष्ट्रले भूमि मिच्दा समेत कम्युनिष्ट सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा गरेको चुनावी सभामा महरले सीमा मिचिँदापनि कुनै कदम नचाली मुकदर्शक देखिनु राष्ट्रिय अस्मिता माथिको खेलबाड भएको बताए । उनले देशभरका जनता आन्दोलित हुनु पर्ने वेला आएको भन्दै चौतर्फी असफल तर अधिनायकवादको आकाँक्षा बोकेको वर्तमान सरकारलाई जनताको लोकतान्त्रिक सिंकजा लगाउनुपर्ने स्पष्ट पारे ।
सरकार आम जनताका भन्दा पनि कम्युनिष्ट पार्टीका संगठित सदस्यहरुका प्रति वफ़ादार बनेको उनको आरोप छ । जनताका दैनिक उपभोग्य सामग्रीहरुमा तीन सय प्रतिशत बढी मूल्य बृद्धि भएर जनता आजित भैसकेको भन्दै उनले “सुन काण्ड,निर्मला काण्ड,सिण्डिकेट काण्ड,वाईडवडी जहाज काण्ड,वालुवाटार जग्गा काण्ड हुदै सभामुख काण्ड सम्ममा नेकपापार्टी र ओली नेतृत्वको सरकार फसेको बताए ।