प्रचण्डले भने – म मरे पछि पनि सुख पाउँदिन जस्तो छ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफू मरेपछि पनि सुख नपाउने स्वीकार गरेका छन् । काठमाडौंमा विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुगेको अवसरमा द्वन्द्व पीडित साझा चौतारीसहितका संस्थाले गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न जोखिम मोले पनि आफ्नो आलोचना भइरहेको भन्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा द्वन्द्व पीडित र मानवअधिकारकर्मीको भनाइ सुनेपछि दबाबमा देखिएका दाहालले भने, ‘मैले मरे पनि सुख पाउँदिन जस्तो छ । मैले गरेको राम्रो कामको प्रशंसा र आलोचना गर्नेहरु मरेपछि हुने भए ।’
दाहालले भने ‘माओवादी सशस्त्र क्रान्तिको आफूले शुरुवात गरेको र अरु नेताहरु पलायन भए पनि आफु जीवितै रहेकाले माओवादी आन्दोलनको जसअपजस लिन तयार रहेको बताए ।
उनले भने– ‘दोषी देखिए दण्ड भोग्न तयार छु ।’ अध्यक्ष दाहालले शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी आफुहरुले नचाहेको र आममाफीको कुरा पनि नगरेको स्वीकारे । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी कसैलाई पनि नदोहार्याउने प्रतिवद्धता पनि जनाएका छन् ।