प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पाँचै बर्ष प्रधानमन्त्री
काठमाडौँ । सत्तारूढ नेकपाले ‘शक्ति संघर्ष’ मा रहेका पार्टीका ‘जोर पाइलट’ (दुई अध्यक्ष) प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्य विभाजन टुंगो लगाएको छ। नेकपा सचिवालयले बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र सरकार सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष केपी ओलीलाई दिने गरी कार्य विभाजन टुंग्याएको हो।
नेताहरूको सर्वसम्मत निर्णयका आधारमा नेकपाले दुई अध्यक्षको कार्य विभाजन टुंग्याएको छ। त्यसको थप मोडालिटीका विषयमा भने छलफल जारी रहेको नेताहरूले बताएका छन्। दुवै अध्यक्षलाई ‘विन–विन’ हुने गरी कार्य विभाजन गरिएको नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।
अब ओली प्रतिनिधिसभाको चालु कार्यकालभर प्रधानमन्त्री हुनेछन्। संसदमा नेकपाको झन्डै दुई तिहाई जनमत छ। प्रतिनिधिसभामा नेकपाको सरकारलाई ‘धक्का’ दिने संसदमा अन्य राजनीतिक शक्ति छैन। राजनीतिक स्थायित्वको सन्देश दिन ओलीलाई पाँच वर्षकै लागि प्रधानमन्त्री कायम राखेर सरकारको काममा केन्द्रित गराउने निर्णय पार्टीले गरेको छ। यस्तै पार्टी एकतापछि अध्यक्ष भएर पनि भूमिकाविहीन महसुस गरिरहेका दाहाललाई कार्यकारी जिम्मा दिएर गतिशील बनाउने निर्णय भएको छ।
यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन।
पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओली