News

सामूहिक बलात्कारको शिकार बनेकी पूजाको न्यायाधीश बन्ने सपना

सामूहिक बलात्कारको शिकार बनेकी पूजाको न्यायाधीश बन्ने सपना

काठमाडौंः  राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहनुहुन्न ।

वि.सं. २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उहाँलाई बारम्बार झस्काइरह्यो ।
त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाउनुभएको छ । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।

“यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ”, पीडित पूजाले भन्नुभयो, “अपराधीलाई छिट्टै पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस् ।’’ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत

बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सो आदेशले पूजालाई चोटमाथि चोट थपिदियो । दुवैजना फरार भए ।
तर पनि पूजाले हिम्मत हारिनन्, ‘इँटको जवाफ पत्थरले दिने’ दृढ विश्वासका साथ न्यायका लागि निरन्तर लडिरहिन् । अन्ततः आठ वर्षको सङ्घर्षपछि न्याय प्राप्त भयो । उहाँले थप्नुभयो, “पुनरावेदन अदालतको फैसलाले पुनः मारेको अनूभूति गरेकी थिएँ ।”

१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ । पुनरावेदन अदालतको आदेशपछि निराश बन्नुभएका पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थाल्नुभएको छ ।

उहाँले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थाल्नुभयो । कानुन पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उहाँको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन।  

पुजा

विशेष