विप्लव कार्यकर्ता व्यक्तिको नाम र नम्बरसहित पक्राउ, फेला पर्याे थप यस्ता सामाग्री
सोलुखुम्बु – सोलुखुम्बुमा पाँच राउण्ड गोलीसहित प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपाका एक नेता पक्राउ परेका छन्। सोताङ गाउँपालिका–१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोलीसहित महाकुलुङ गाउँपालिका–१ बस्ने ३४ वर्षीय बुङकाङिमा शेर्पा पक्राउ परेका हुन्।
शुक्रबार विप्लब माओबादीको नामबाट अपरचित व्यक्तिले फोनबाट धम्की दिदै जनप्रतिनिधि र स्थानीय व्यापारीहरुबाट चन्दा उठाउने गरेको सुराकीको आधारमा ईलाका प्रहरी चौकी सोताङ र प्रहरी चौकी पावैबाट परिचालित प्रहरीको संयुक्त टोलीले सोताङ गाउँपालिका १ को जंगलमा चेकजाँच गर्दैगर्दा महाकुलुङ गाउँपालिका १ शेर्पा पक्राउ गरेका हुन्। गस्तीमा रहेका प्रहरीलाई देखेपछि भागेका शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
चेकजाँचको क्रममा उनको झोलाबाट ५ थान गोली, २ थान मोबाईल, विभिन्न व्यक्तिको नाम र फोन नम्बर भएको नोटबुक एक थान, एनटिसीका ८ थान सिमकार्ड फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए। चन्दा लिन आउने दिन र शेर्पाको हुलिया र उनले लगाएको पोशाक समेत गोप्य सूचना पाएपछि सोताङ, नेले, पावै, जुबु लगायतका प्रहरीलाई परीचालन गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पक्राउ परेका शेर्पा पुर्व माओबादी छापामार र हाल विप्लब माओबादीको कार्यकर्ता रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। शेर्पा माथी थप अनुसन्धान भईरहेको छ।