करोडौँ मुल्य पर्ने सरकारी जग्गा व्यक्तिको कब्जामा
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले कब्जा गरेको पाइएको छ । सरकारी जग्गा कब्जा गर्न समाजका प्रतिष्ठित व्यक्ति नै संलग्न हुने गरेको पाइएको छ । करोडौँ मुल्य पर्ने सरकारी जग्गा व्यक्तिले हडपेकोबारे बुधबार उजुरी परेपछि यस्तो तथ्य बाहिरिएको हो ।
अन्दाजी ४ करोड पर्ने सार्वजनिक जग्गा सरकारी कर्मचारीले समेत पदको दुरुपयोग गरी निजीकरण गरेको भन्दै छानबिन गरी कानून अनुसार कारबाही गर्न सुचनाकर्ता बीरउदास श्रेष्ठले माग गरेकाछन् । सरकारी जग्गा सरकारी कर्मचारीलाई समेत प्रलोभनमा पारी व्यक्तिको नाममा दर्ज गरेको पाइएको हो । सरकारी जग्गा निजीकरण गरिएको प्रमाण सहित उजुरी दर्ता भएको हो।
साविक जुभिङ गाविस वडा ५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ५७९ को २ लाख ९८ हजार २ सय ३० वर्गमिटर, कित्ता नम्बर ५८१ को ३ लाख ९८ हजार ५ सय ६० बर्गमिटर जंगललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरि दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ ।
२०५८ साल श्रावण ३१ गते कित्ता नम्बर ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई ३१ सय वर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्ड बुकमा उल्लेख छ । यस्तै सोही मितिमा कित्ता नम्बर ५८१ बाट कित्ताकाट भई २५ सय वर्गमिटर जग्गा बुधमाया थापामगरको नाममा दर्ता गरिएको छ ।
२०७१ साल कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाँठ गरि विभिन्न व्यक्तिलाई बिक्री समेत गरिएको छ । करिब २ करोड मुल्यको जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगर जोडिएका छन् । प्रेमबहादुर थापामगर नेपाली काग्रेसका जिल्ला नेता समेत हुन् ।
त्यस्तै साविक चौरीखर्क गाविस वडा नम्बर ८ स्थित तेञ्जिङ हिलारी विमानस्थल नजिकैको ४१९ कित्ता नम्बरको जग्गा समेत निजीकरण गरिएको छ । निवेदनमा उल्लेख भएअनुसार ७ हजार ६ सय ५७.५ बर्गमिटरको बिरह ढडेन साविक सोताङ ३ घर भई हाल चौरीखर्क ८ बस्ने सुबोध नेपाली र मनमाया नेपालीको नाममा दर्ता गरिएको छ ।
नापी कार्यालयको तथ्याङ्क अनुसार २०६९ साल मंसिर १८ गते कित्ताकाट गरि सुबोध नेपालीको नाममा कित्ता नम्बर ८३३ कायम गरी १ हजार ४७.४८ बर्गमिटर जग्गा दर्ता गरिएको छ भने ८३४ कित्ता नम्बर कायम गरी ६ हजार ६२० बर्गमिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमति मनमाया नेपालीको नाममा दर्ता गरिएको छ ।
निवेदनमा उल्लेख गरेअनुसार जग्गाको मुल्य करिब ३ करोड रहेको छ । यस्तै साविक चौरीखर्क १ स्थित नेपाल सरकारको नाममा रहेको कित्तानम्बर ११६ को ८ लाख ३० हजार ८ सय ५० वर्गमिटरको जंगल समेत निजीकरण गरेको पाईएको छ । साविक चौरीखर्क २ बस्ने दावा नुर्वु शेर्पाले २०७० साल साउन १८ गते तीनवटा कित्ता ४५९, ४६०, र ४६१ मा क्षेत्रफल क्रमश ४ हजार १५०, १४ हजार १ सय र १५ हजार ५ सय ३० वर्गमिटरको जग्गा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
निवेदन आजै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले जानकारी दिए । उनले छानबिन गरि कार्वाही प्रक्रिया अगाडि बढाउने बताए ।