News

नेपालको युरेनियम भण्डारमा रूसको चासो : रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

नेपालको युरेनियम भण्डारमा रूसको चासो : रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

काठमाडौ:  छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रसंग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ। पुस दोस्रो साता आगामी डिसेम्बर अन्तिम साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।

‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता रूसबाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ।’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले नेपाल समाचारपत्रलाई बताए। इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ। खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन ।  

भ्लादिमिर पुटिन रूसी राष्ट्रपति

विशेष