भारतले फेरि भन्यो : नेपालको सीमा मिचिएको छैन
एजेन्सी । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएको एक साता नबित्दै भारतले नेपालको सीमा नमिचेको भनाई औपचारिक रुपमा दोहोर्याएको छ । गत कात्तिक १६ गते भारतले सार्वजनिक गरेको नक्सामा नेपालको सीमा मिचिएको भन्दै विरोध भैरहेका बेला भारतले नेपालको सीमा नमिचिएको अडान दोहोर्याएको हाे ।
भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत रहेको बताए। सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको पनि उनले उल्लेख गरेका छन् ।
प्रवक्ता रविशकुमारले पत्राचारपछि औपचारिक प्रक्रिया सुरु हुने र दुवै पक्षको अनुकूलता हेरेर बैठकको मिति तय हुने जानकारी पनि दिए । उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ‘ईपीजी’को प्रतिवेदन बुझाउनै बाँकी रहेको पनि दोहोर्याए ।
भारतका कारण प्रतिवेदन सार्वजनिक भएन भन्नु तथ्यगत रूपमा गलत रहेको विदेश मन्त्रालयको दावी छ । दुवै पक्षले आ–आफ्ना सरकारलाई बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने उनले स्पष्ट पारे ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध भइरहेको छ ।