News

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध : नेपालले पठायो कूटनीतिक नोट

भारतको नयाँ नक्साप्रति औपचारिक विरोध : नेपालले पठायो कूटनीतिक नोट

भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर भारतसमक्ष विरोध जनाएको हो । 

व्यास गाउँपालिका–१ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरी चौकी । यो नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । १३ प्रहरीको दरबन्दी रहेको यो चौकी भारतद्वारा अतिक्रमित कालापानीबाट १९ किलोमिटर वरै छ । 

भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रस्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार कायम हुनुपर्ने दाबी गर्दै आएको छ । भारतको नयाँ नक्सामा कालीनदी उल्लेख भए पनि त्यसपूर्वको भूभागलाई समेत आफ्नो क्षेत्रभित्र पारिएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको नोटमा भारतद्वारा जारी पछिल्लो नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको छ । स्रोतका अनुसार कालापानीलगायत स्थानमा लामो समयदेखि थाती रहेका सीमांकन प्रक्रियालाई चाँडै अगाडि बढाउनुपर्नेमा समेत नेपालले जोड दिएको छ।  

यो समाचार आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन।  

भारतको नयाँ नक्सा

विशेष