मोटरसाइकलसहित १६ बोरा मरिच नियन्त्रणमा
विराटनगर । मोरङ प्रहरीले भित्री बाटोबाट भारततर्फ तस्करी हुँदै गरेको १६ बोरा मरिच नियन्त्रणमा लिएको छ । जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले तीनवटा मोटरसाइकलसहित १६ बोरा मरिच नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ४ सय २५ किलो मरिचको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ बराबर छ ।
सो मरिच भारतीय नम्बर डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ को मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो मरिच तस्करीमा संलग्नहरु भने भारततर्फ भागेको प्रहरीले बताएको छ ।
मरिच र मोटरसाइकल आवश्यक कारबाहीका लागि प्रहरीले बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।