मोटरसाइकल चोर्ने गिरोहका ‘नाइके’सहित चार जना पक्राउ, २ माेटरसाइकल बरामद
एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका
मकवानपुर । मोटरसाइकल चोर्ने गिरोहका नाइकेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्फिल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ ।
ज्ञानेन्द्र चौधरी मोटरसाइकल चोर्ने गिरोहको नाइके रहेको प्रहरीको दाबी छ । उनी यसअघि मोटरसाइकल चोरी मुद्दामा ३ लाख १० हजार रुपैयाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए ।
मोटरसाइकल चोरी गर्ने समूहलाई जिल्लाका तीन छुट्टा छट्टै ठाउँबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १९ बाट चोरीको मोटरसाइकल सहित निरन्जन चौधरीलाई प्रदेश ३-०२-०१०प २४५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । त्यस्तै राजमार्गको हेटौंडा-लेवट खण्डबाट अनटेष्ट मोटरसाइकलसहित राजकपुर चौधरी पक्राउ परेका थिए ।
राजमार्गमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीलाई छक्याएर भागेका राजकपुरलाई लेवटको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई छक्याएर भाग्ने क्रममा मोटरसाइकलबाट लड्दा उनको दायाँ कुमको हड्डी भाँचिएको प्रहरी उपरीक्षक सिंहले बताए ।
चोरी गर्ने गिरोहका नाइके भनिएका ज्ञानेन्द्र चौधरीलाई चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २(०३००२ प ५९४७ नम्बरको बुलेट वाइकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले चलाएको मोटरसाइकलको पछाडि बसेका बारा कोल्बी नगरपालिका ६ का २२ वर्षीय धिरज चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।