देउवाको गम्भीर आरोपः ‘प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो’

देउवाको गम्भीर आरोपः ‘प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नक्सा छाप्यो’

काठमाडौंः चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् । देउवाले कास्की–२ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका हुन् ।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने । 

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन्? कहाँ छ त्यो राष्ट्रवाद अहिले? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने । ओलीको राष्ट्रवाद अब जनताले नपत्याउने देउवाले बताए । भारतले भूमि मिच्दा सरकार कानमा तेल हालेर बसेको उनले बताए । ‘कालापानी नेपालको होइन? लिपुलेक नेपालको होइन? आज दुवै भारतलाई बुझाएर सबैभन्दा राष्ट्रघात गरेको छ । नेपालको एक इन्च जमिन पनि लान दिनु हुँदैन । चुनाव जित्न राष्ट्रवादको खोल ओढेर जनताका आँखामा छारो हालेका छन् ओलीले । यी कुनै राष्ट्रवादी नै होइनन् । लम्पसारवादी हुन्’ उनले भने । सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी देउवाको छ । 

आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धि भएको र सन्धीले महाकालीलाई सीमा नदी मानेको दाबी गरे । ‘म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकाली नदीलाई सीमा नदी भनिएको छ, पानी आधा–आधा,’ उनले भने । हो, महाकाली सन्धि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै वेला ०५२ सालमा भएको हो तर, सन्धीले महाकालीलाई सीमा नदी होइन, ‘अधिकांश भागमा सीमा नदी’ भनिएको छ । महाकाली केही ठाउँमा नेपालभित्र, केही ठाउँमा भारतभित्र पर्छ र अधिकांश ठाउँमा सीमानामै पर्छ भन्ने अर्थ लाग्ने जानकारहरू बताउँछन् ।

त्यस्तै देउवाले भनेजस्तो सो सन्धिमा महाकालीको पानी भारत र नेपाललाई आधा–आधा हुने भन्ने उल्लेख छैन । बरु, सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ । जबकि महाकाली नदीमा हिउँदमा पनि १० हजार क्युसेक पानी बग्छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

शेरबहादुर देउवा केपी शर्मा ओली

संम्बधित खबर

विशेष