News

६ बालबालिका मार्ने चितुवा स्थानीयले थापेको खोरमा

६ बालबालिका मार्ने चितुवा स्थानीयले थापेको खोरमा

दमौलीः १८ महिनामा ६ जना बालबालिका चितुवाको शिकार बनेपछि स्थानीयले थापेको खोरमा चितुवा परेको छ । तनहुँको भानु नगरपालिका–२ मा आइतबार एउटा पोथी चितुवा खोरमा परेको हो । बालबालिकामाथि दैनिक जसो चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाले चितुवालाई पासोमा पार्न सामुदायीक वनमा ९ वटा पराम्परागत खोर निर्माण गरेका थिए । 

वडा नम्बर २ को मझुवा ओख्ले सामुदायिक वन भित्र निर्माण गरिएको उक्त खोरमा आइतबार विहान एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । चितुवालाई पासोमा पार्न उक्त खोरभित्र बाख्रा राखिएको थियो ।

चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेको तथा पशु चौपायालाई समेत आक्रमण गरेपछि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन भित्र परम्परागत काठका खोर निर्माण गरिएको थियो । चितुवाको आक्रमणबाट भानु नगरपालिकाको वडा नम्बर १, २ र ३ मा डेढ वर्ष यता ६ जना बालबालिकाको मृत्यु भईसकेको छ भने सात जना घाइते भएका छन् । त्यस्तै चितुवाले धेरै संख्यामा घर पालुवा पशु चौपायालाई आक्रमण गरेको थियो ।

बालबालिका तथा पशु चौपायालाई घरमै आई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय तथा भानु नगरपालिकाको सहयोगमा विभिन्न सामुदायीक वनमा खोर निर्माण गरिएको भानु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर खड्काले बताए । 

चितुवा नियन्त्रणको लागि उक्त खोरहरु प्रभावकारी देखिएको डिभिजन वन प्रमुख बरालले बताउनुभयो । हालसम्म ति खोरमा चारवटा चितुवा पासोमा परिसकेको छ । केही दिन अघि मात्र पोथी चितुवामा खोरमा परेको थियो । यस्तै हालसम्म दुई वटा चितुवाको डमरु मृत अवस्थामा भेटिएको छ । पासोमा परेको उक्त चितुवा आइतबार नै रुपन्देहीको शंकरनगर स्थित सामुदायीक प्राणी उद्यानमा लगेर छाडिएको डिभिजन वन प्रमुख बरालले जानकारी दिए । 

चितुवा तनहुँ

विशेष