केन्यामा पहिराे, मृत्यु हुनेको संख्या ६० पुग्यो
केन्या- केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ। मृत्यु भएका मध्ये कम्तीमा सात जना बालबालिका रहेका छन्। “हामीले अहिलेसम्म गएरातीको जस्तो दर्दनाक घटना देखेको र भोगेको थिएनौँ,” वेस्ट पोकोटका गभर्नर जोन क्रोप लोङयाङले भने।
स्थानीय समयानुसार शनिबार दिउसो २.३० मा पहिरो गएको अधिकारीहरुले जानकारी दिएका छन्। युगाण्डा र दक्षिण सुडाननजिकै पर्ने केन्याको सीमा क्षेत्रमा पहिरो गएको हो । पहिरोले ठूलो क्षति गरेको अधिकारीहरुले जनाएका छन्।पहिरोका कारण धेरै बाटो, पुललगायतका भौतिक संरचनाहरु भत्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ।
त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन्। केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिएका छन्। उनले भने, “उद्धार तथा राहतको कामहरु भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायता सम्वन्धी निकायका व्यक्तिहरु खटिएका छन्।” प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई भइरहेको उनले जानकारी दिए। थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाई छ।
प्राकृतिक श्रोत साधन र भौतिक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको विज्ञहरुले बताएका छन्। एएनआई