News

सरकारले तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्नुपर्छ : प्रवक्ता शर्मा

सरकारले तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्नुपर्छ : प्रवक्ता शर्मा

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि कांग्रेस तयार रहेको बताए ।

शर्माले प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेको बताए ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशंका मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्ने बताए ।

सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशंका गरिएको बताए ।
राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महंगी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए ।
भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनको भनाइ छ ।

विशेष