मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरीकाे फन्दामा
काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना प्रहरीकाे फन्दामा परेका छन्। ताप्लेजुङ ढुंगेसाँघु घर भइ हाल काठमाडौं कपन बस्दै आएका ३३ वर्षीय कैलाश लिम्बू प्रहरीकाे फन्दामा परेका हुन्।
विभिन्न व्यक्तिहरुसँग पैसा उठाइरहेको भन्ने सूचना र उजुरीका आधारमा वैदेशिक रोजगार विभागबाट खटिएको टोलीले १ लाख २० हजार रुपैयाँसहित कैलाश लिम्बूलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरिएको हो ।
सिन्धुली घर भएका झलकबहादुर विक र पोष्टराज विक दुई दाजुभाइबाट नगद रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको विभागले जनाएको छ ।
लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेका थिए । भिसा लागिसक्यो शनिबारको फ्लाइट छ, अब १ लाख ६० हजार रुपैयाँ लिएर आउनु भनेर दुईजना दाजुभाइलाई काठमाण्डौ बोलाएको थियो ।
तर यहाँ आएर आफूहरुको श्रमस्वीकृति नै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
नियन्त्रणमा लिइएका लिम्बूलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्बन्धमा अहिले अनुसन्धान भइरहेको विभागले जनाएको छ ।