१० करोड घाटा लागेपछि बुद्ध एयरको काठमाडौं–कोलकाता उडान बन्द

काठमाडौंः बुद्ध एयरलायन्सका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले काठमाडौंबाट भारतको कोलकाताका लागि भएको उडान बन्द गर्ने घोषणा गरेका छन् । ७८ वटा उडानमा १० करोड घाटा लागेको भन्दै निर्देशक बस्नेतले उडान बन्द गर्ने घोषणा गरेका हुन् ।
आउँदो डिसेम्बर २ तारिखमा काठमाडौं–कोलकाता बुद्ध एयरको अन्तिम उडान हुने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि हामीले जोखिम मोलेर काठमाडौं–कोलकाता उडान सुरु गर्यौं तर घाटा व्यहोर्नु पर्यो,’ उनले भने, ‘काठमाडौंबाट कोलकाता जाने भन्दा कोलकाताबाट काठमाडौं आउने यात्रुको संख्या बढ्न सकेन ।’
सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरलायन्सले काठमाडौं कोलकाता उडान सुरु गरे पनि सरकारले कोलकातालगायत भारतीय सरहमा नेपालबारेमा राम्ररी प्रचारप्रसार गर्न नसक्दा यात्रु अभावमा उडान बन्द गर्ने घोषण गरिएको हो ।
कोलकाता उडान बन्द गर्ने घोषणासँगै भारतको अर्को सहर गुवाहाटी उडान गर्ने योजना समेत बुद्ध एयरले तत्काललाई अघि नबढाउने भएको छ । बुद्ध एयरलायन्सको एटीआर ७२–५०० मार्फत काठमाडौं–कोलकाता उडान ६ महिनायता गर्दै आएको थियो । कान्तिपुर दैनिकबाट
बुद्ध एयर काठमाडौं–कोलकाता उडान