News

प्याजको मूल्य एकै वर्षमा पाँच सय प्रतिशतले महँगो, अझै बढ्न सक्ने

प्याजको मूल्य एकै वर्षमा पाँच सय प्रतिशतले महँगो, अझै बढ्न सक्ने

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।

उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।

भाउ अझै चर्को हुनसक्ने

नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् । उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा प्याजको कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । 

प्याज

विशेष