News

नयाँ बसपार्क मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा

नयाँ बसपार्क मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा

काठमाडौंः राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ ।

प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताए । उनले भने, ‘बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ । यो काममा सबैको साथ छ ।’ 

सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ । तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने गरेका छन् ।

बसपार्क व्यवस्थापनको ठेक्का लिएका लोत्से बहुउद्देश्यीय प्रालिका प्रमुख इन्जिनियर दीपक कुँवरले बसपार्क व्यापार व्यवसायको हबभन्दा सर्वसाधारण यात्रुको सुविधाका लागि हुुनुपर्ने भावनामा काम भइरहेको बताए ।

बसपार्कलाई हरियाली वातावरण मैत्री उद्यानहरू, सार्वजनिक शौचालयको सुविधायुक्त र प्रदेश अनुसार टिकट काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । लोत्सेका प्रमुख इन्जिनियर कुँवरका अनुसार, केही महिनामा नै यी सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न हुने छन् । 

मदिरा धूमपान नयाँ बसपार्क

विशेष