News

१४ वर्षपछि नेपाल–रुस औपचारिक वार्ता, राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो

१४ वर्षपछि नेपाल–रुस औपचारिक वार्ता, राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो

काठमाडौंः नेपाल र रुसबीच १४ वर्षपछि औपचारिक वार्ता भएको छ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार रुसी समकक्षी सेर्गेई लाभरोभसँग मस्कोमा औपचारिक वार्ता गरेका हुन्  । ०६२ सालमा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे औपचारिक भ्रमणमा गएपछि यसपटक परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भएको हो । 

ज्ञवालीले रुसी विदेशमन्त्रीलाई २० चैतमा आयोजित सगरमाथा संवादमा सहभागी हुन निमन्त्रणा दिएका छन् । साथै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री केपी ओलीले रुसी समकक्षी दिमित्री मेद्भेदेवलाई पठाएको निमन्त्रणापत्र पनि ज्ञवालीले समकक्षी सेर्गेइलाई हस्तान्तरण गरेका छन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भ्रमणले दुई देशबीचकोे सम्बन्धमा नयाँ आयाम थप्नेसमेत उल्लेख गरेका थिए । रुसी विदेशमन्त्री लाभरोभले नेपालको निमन्त्रणालाई आफ्नो देशले हार्दिकताका साथ ग्रहण गरेको र उपयुक्त समयमा कूटनीतिक च्यानलमार्फत तय गरिने जवाफ दिएका छन् ।

०६२ सालमा रुसका लागि राजदूत रहेका कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले रुसीमन्त्री लाभरोभलाई त्यसबेला पनि औपचारिक भ्रमणका लागि निमन्त्रणा दिइएको बताए । ‘पुटिन त्यसवेला पनि राष्ट्रपति थिए । उनकी बौद्धमार्गी श्रीमतीमार्फत् पुटिनको नेपाल भ्रमणका लागि प्रयास भएको थियो । अहिले ती श्रीमतीसँग पुटिनले डिभोर्स गरिसकेका छन्,’ श्रेष्ठले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भ्रमण प्रदीप ज्ञवाली भ्लादिमिर पुटिन औपचारिक वार्ता

विशेष