News

कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

मुस्ताङः मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । 

प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाेली खटिने छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्ने छन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ ।

भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले १५ लाख विनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए । 

कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २१७ रोपनी जग्गा व्यवस्थापन गरी गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ ।

सांसद तुलाचनका अनुसार कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ क्वारेन्टाइन भवन निर्माण गर्न एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि सम्बद्ध मन्त्रालयमा पहल गरिएको सांसद तुलाचनले बताए ।  

कोरला नाका सशस्त्र प्रहरी बिओपी बोर्डर आउट पोष्ट

विशेष