News

जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिनः उम्मेदवार पौडेल

जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिनः उम्मेदवार पौडेल

कास्कीः नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने बताउँदै जनतासँग गरिएको प्रतिबद्धतामा पछि नहट्ने बताएका छन् । 

पार्टीको चुनाव प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले उम्मेदवार बनेर चुनावी मैदानमा होमिँदै गर्दा जनतासामु गरिएका प्रतिबद्धतालाई निर्वाचन जितेसँगै कार्यान्वयनमा ल्याउन क्रियाशील बन्ने विश्वास व्यक्त गरे । 

नेपाली समाजको रुपान्तरणका साथै यहाँका जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफूले छ दशकयता सङ्घर्ष गर्दै आएको बताउँदै उनले काँग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएका कारण उहाँका आदर्शलाई सधैँ शिरोधार्य गर्दै अघि बढिरहेको उल्लेख गरे । 

निर्वाचन क्षेत्रभित्र विद्यमान सडक, खानेपानी, शिक्षालगायतका समस्यामा आफू पूर्णरुपमा जानकार भएको उल्लेख गर्दै उहाँले यी समस्याको समाधानका साथै यस क्षेत्रलाई स्वच्छ र हराभरा बनाएर यहाँका पर्यटकीय सम्भावनालाई उजागर गरिने बताए । 

नेपाली काँग्रेस प्रतिबद्धता खेमराज पौडेल

विशेष